Skip navigation

– बिहिवार, 11 मार्च 2010 13:29 दयानन्द बज्राचार्य

सन् १९०२ मा पहिलोपल्ट जर्मन वनस्पतिविज्ञ गोट्लिब हाबरल्यान्डलेे सबै वनस्पतिको कोषबाट सिंगो विरुवाको पुनर्विकास गर्न सकिन्छ भन्ने सिद्धान्त अघि सारेका थिए। सन् १९५० को दशकमा बेलायतका अर्का वनस्पतिविज्ञ एफ. सि. स्टिवार्डले गाजरको एक सूक्ष्म तन्तुबाट प्रयोगशालामा उपयुक्त रसायनको मिश्रण राखिएको परीक्षण नली (टेस्ट ट्युब)मा गाजरको सिंगो बोट पुनर्विकास गरेर हाबरल्यान्डको सिद्धान्तलाई व्यवहारमा प्रमाणित गरेका थिए। ‘टिस्यु कल्चर’ नामले चिनिने उक्त प्रविधिमार्फत् आज कुनै पनि बोटविरुवाको अङ्ग, तन्तु वा कोषबाट प्रयोगशालामा नयाँ विरुवा उत्पादन गर्न सकिन्छ। आज यो प्रविधि कृषि, बागवानी एवं नर्सरीका क्षेत्रमा उन्नत र दुर्लभ जातको बोटविरुवा उत्पादन गर्न व्यापकरूपमा प्रयोग हुँदै आएको छ। यसरी कुनै जीवको अङ्ग, तन्तु वा कोषबाट सोही जीवको पूर्ण प्रतिरूप तयार पार्ने अयौनिक विधिलाई ‘क्लेानिङ’ भनिन्छ। वनस्पति होस् वा प्राणी, सबै जीवको प्रत्येक कोषमा सोही जीवको पुनर्विकास गर्न आवश्यक सम्पूर्ण आनुवंशिक सूचना (जेनेटिक इन्फरमेसन) पाइन्छ भन्ने यथार्थ प्रमाणित भइसकेको छ।
क्लेानिङ प्रविधिमार्फत् बोटविरुवाको पुनर्विकास गर्न सजिलै भए पनि प्राणी र विशेषतः स्तनधारी प्राणीको पुनर्विकास गर्न भने त्यति सरल थिएन। सन् १९९७ मा मात्र स्कटल्यान्डका आएन् विल्मट र उनका सहकर्मी वैज्ञानिकहरू क्लेानिङ प्रविधिमार्फत् एक स्तनधारी प्राणीको प्रतिरूप (क्लोन) निर्माण गर्न सफल भएका थिए। उनीहरूले एक वयस्क भेडीको थुनबाट संकलन गरिएको एक कोषबाट विशेष विधिद्वारा नयाँ भेडीको पूर्ण प्रतिरूप तयार गरेका थिए। ‘डली’ नाम दिइएको उक्त भेडीलाई दुरुस्तै आमाको प्रतिरूपमा उत्पन्न गरिएको थियो। यस प्रविधिबाट मानवको प्रतिरूपसमेत तयार पार्न सकिने सम्भावना देखिएकाले विल्मट र उनका सहकर्मीको उक्त अनुसन्धानले त्यतिबेला विश्वमा ठूलो हलचल मच्चाएको थियो।

विल्मट र उनका सहकर्मीले विकास गरेको क्लोनिङ प्रविधिको प्रयोग गरी वैज्ञानिकहरू मुसा, कुकुर, गाई, उँट, घोडा तथा मानिसको सबैभन्दा नजिकको आनुवंशिक नाता भएको प्राणी मानिने ‘रेसस’ जातको बाँदरजस्ता अरू धेरै प्रकारका स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न सफल भइसकेका छन्। यस प्रविधिले हजारौं वर्षअघि लोप भइसकेका प्राणीको पुनर्विकास गर्न सकिने सम्भावनाको ढोका उघारेको छ। क्लेानिङ प्रविधिमार्फत् मानवको प्रतिरूपसमेत तयार पार्न सकिने सम्भावना बढेको छ। क्लेानिङ प्रविधि प्रयोग गरी सिद्धान्ततः कुनै पनि मृत वा जीवित मानिसको प्रतिरूप तयार पार्न सकिने देखिन्छ। तथापि अहिलेको अवस्थामा यो काम प्राविधिक दृष्टिकोणले निकै कठिन मानिन्छ। तर हिजो कठिन वा असम्भव देखिएका कतिपय कुरा अहिले वैज्ञानिक यथार्थमा परिणत भएका उदाहरण थुप्रै छन्। तसर्थ मानव क्लोनिङको सम्भावनालाई पूरै नकार्न सकिन्न।

मानव प्रतिरूप तयार पार्नु नैतिक तथा चिकित्सकीय दृष्टिकोणले अनुचित हुने भन्दै युरोप, अमेरिकालगायत विश्वका सबैजसो देशमा मानव क्लोनिङमा प्रतिबन्ध लगाइएको छ। तथापि केही वैज्ञानिकहरू पहिलो मानव शिशुको प्रतिरूप तयार पार्ने होडबाजीमा लागेका हुन् कि भन्ने शंका गरिन्छ। सन् २००३ मा ‘क्लोन एड’ नाम गरेको एक अमेरिकी जैविक प्रविधि कम्पनीले आफ्ना वैज्ञानिकद्वारा ‘इभ’ नाउँकी एक शिशु बालिकाको मानव प्रतिरूप तयार गरिएको दावीसमेत गरेको थियो। कम्पनीले थप प्रतिरूप शिशुको जन्म हुने पनि घोषणा गरेको थियो। वैज्ञानिक स्तरमा यस समाचारको विश्वसनीयताबारे पुष्टि हुन नसकेपनि यसले सञ्चार माध्यममा ठूलै सनसनी फैलाएको थियो र विश्वभर मानव क्लोनिङको मानवीय, चिकित्सकीय र नैतिक पक्ष विपक्षबारे तीव्र बहस सुरु भएको थियो।

मानव क्लोनिङको सम्भावनाले समाजमा आशा र भय दुवै उत्पन्न गरेको छ। यस प्रविधिले अकालमै मृत्यु भएका मानव शिशुको प्रतिरूप तयार गरेर त्यस शिशुको ‘पुनर्जन्म’ समेत गराउने सम्भावना बोकेको छ। यसले कतिपय दुःखीआमाबाबुले आफ्ना गुमेका बच्चा पुनः प्राप्त गर्ने सम्भावना हुन्छ। यस्तो सम्भावनाले समाजका कतिपय व्यक्तिमा ठूलो उत्साहको सञ्चार गरेको छ। यस प्रविधिद्वारा कतिपय मानिस अल्बर्ट आइन्स्टाइनजस्ता अपूर्व बुद्धि र प्रतिभाका प्रतीक मानिने महान् वैज्ञानिकको प्रतिरूप तयार पार्न सकिने सम्भावनाबाट रोमाञ्चित हुने गर्छन् भने, कतिपय मानिस यही प्रविधिबाट एडोल्फ हिटलरजस्ता क्रुर र खतरनाक व्यक्तिको ‘पुनर्जन्म’ हुने आशंकाले भयभीत पनि हुने गर्छन्। के वास्तवमै क्लोनिङ प्रविधिबाट अर्को आइन्स्टाइन वा हिटलरको ‘पुनर्जन्म’ हुन सक्छ? के क्लोनिङ प्रविधिबाट तयार पारिएको कुनै पनि मानव प्रतिरूपको शारीरिक, बौद्धिक र मानसिक स्वभाव दुरुस्त मूल व्यक्ति समान हुन्छ? यस्ता प्रश्नको सही उत्तर प्राप्त गर्न मानिसको समग्र विकासमा आनुवंशिक तत्व (जेनेटिक मटेरियल) र भौतिक तथा सामाजिक वातावरणले खेल्ने भूमिकाबारे चर्चा गर्न आवश्यक हुन्छ।

मानिसबाहेक प्रायः सबैजसो प्राणीको जैविक क्रियाकलाप र व्यवहार मूलतः आमाबाबुबाट प्राप्त वंशाणुगत गुण र ज्ञानबाट निर्देशित हुने गर्छ। तर अन्य प्राणीका तुलनामा स्नायु प्रणाली र मस्तिष्क उच्च विकसित भएकाले मानिसमा आफ्ना आमाबाबुबाट मात्र नभएर आफू हुर्केको भौतिकसामाजिक वातावरणबाट समेत ज्ञान आर्जित गर्ने क्षमता हुन्छ। मानिसमा वर्तमानमात्र नभएर भूतकालको ज्ञानलाई समेत उपयोग गर्ने क्षमता विकास भएको छ, जुन अरू कुनै प्राणीमा पाइँदैन। मानिसले आफूले यसरी हासिल गरेको ज्ञानलाई आफ्नो मस्तिष्कमा धेरै समयसम्म सञ्चित गरी आफ्ना व्यवहारमा अनुकूल परिवर्तन गर्न उचित समयमा पुनः प्रयोग गर्न सक्छन्। त्यसैले मानिसको जैविक क्रियाकलाप र व्यवहार, आमाबाबुबाट प्राप्त वंशाणुगत गुण र ज्ञानका साथै आफूले आर्जन गरेको ज्ञानमा पनि निर्भर हुन्छ।

मानिसको जैविक व्यवहार र आन्तरिक चेतना मूलतः आमाबाबुबाट प्राप्त आनुवंशिक तत्वबाट निर्देशित भएपनि बौद्धिक एवं मानसिक व्यवहार भने भौतिक एवं सामाजिक वातावरणबाट आर्जित ज्ञान र अनुभवबाट बढी प्रभावित हुने विश्वास गरिन्छ। तसर्थ कुनै पनि मानिसको व्यक्तित्व, व्यवहार र बुद्धि उसको वंशाणुगत गुण र ऊ हुर्केको वातावरणको संयुक्त उपज हो। यिनै कारणले गर्दा समान वंशाणुगत गुण भएका तर फरक सामाजिक परिवेशमा हुर्किएका जुम्ल्याहाको शारीरिक रूप र जैविक गुण एकदम समान भए पनि उनीहरूको बौद्धिक र मानसिक स्वभावमा कतिपय भिन्नता पनि पाइन्छ। मानिसको समग्र विकासमा आनुवंशिक तत्व र वातावरणमध्ये कुन पक्ष बढी प्रभावी हुन्छ, किटान गरेर भन्न सकिएको छैन। आनुवंशिक तत्व र वातावरणबीचको सम्बन्ध अत्यन्त जटिल र पेचिलो मानिन्छ।

भनिन्छ, आइन्स्टाइनको मस्तिष्कको केही भाग अझै कतै सुरक्षित छ। आइन्स्टाइनको देहान्तपछि कुनै चिकित्सक वा अनुसन्धाताले आइन्स्टाइनको तीक्ष्ण बुद्धिको रहस्य पत्ता लगाउन गोप्यरूपमा उनको मस्तिष्कका केही भाग रसायनिक घोलमा डुबाएर सुरक्षित गरी राखेको बताइन्छ। हिटलरको मृत शरीरको कुनै अङ्ग आजपनि सु्रक्षित छ वा छैन थाहा छैन। हिटलरको आत्महत्यापछि उनीप्रति वफादार सैनिक जवानले उनको शरीरलाई जलाएर नष्ट गरेको बताइन्छ। तथापि हिटलरको मृत्यु आजपनि रहस्य छ। मृत्युपछि उनको शरीरलाई कतै सुरक्षित ठाउँमा लुकाएर राखिएको छ भन्ने पनि सुनिएको छ।

क्लेानिङका लागि आवश्यक जीवको कोषभित्र पाइने आनुवंशिक तत्व अर्थात् डिएनए अति स्थिर तत्व मानिन्छ। हजाराँै वर्ष पुरानो मृत जीवको कोषबाट संकलित डिएनएलाई समेत वैज्ञानिकहरू पुनः क्रियाशील तुल्याउन सफल भएका छन्। तसर्थ आइन्स्टाइन र हिटलरको मृत शरीरको कुनै अंग वा तन्तु वास्तवमा सुरक्षित छ भने त्यसबाट संकलित कोषको प्रयोगगरी आधुनिक क्लेानिङ प्रविधिमार्फत् सिद्धान्ततः आइन्स्टाइन र हिटलरको प्रतिरूप शिशु तयार गर्न असम्भव देखिंदैन। तर यसरी निर्माण गरिएको आइन्स्टाइनको प्रतिरूप वास्तवमै आइन्स्टाइनजस्तै अपूर्व बुद्धि र प्रतिभासम्पन्न व्यक्तिमा विकसित हुनेछ नै भन्ने निश्चित् चाहिँ छैन। प्रतिरूपमा वैज्ञानिक आइन्स्टाइनकै शतप्रतिशत आनुवंशिक तत्व रहने भएपनि ऊ हुर्किने र बाँच्ने अहिलेको वातावरण र त्यतिबेला आइन्स्टाइन हुर्केका र बाँचेका वातावरणको भौतिक, सामाजिक तथा वैज्ञानिक संरचना भिन्न हुनेछन्। तसर्थ आइन्स्टाइनको प्रतिरूपको व्यवहार र व्यक्तित्व वैज्ञानिक उनको भन्दा नितान्त भिन्न पनि हुन सक्नेछ।

आइन्स्टाइनजस्तै हिटलर पनि उनको आनुवंशिक तत्वको उपजमात्र नभएर त्यसबखत जर्मनी र युरोपमा विद्यमान राजनीतिक एवं आर्थिक-सामाजिक परिस्थितिको परिणाम पनि हुन्। हिटलरको प्रतिरूप हुर्किने आजको विश्वको वातावरण, राजनीतिक एवं आर्थिक-सामाजिक अवस्था हिटलर त्यतिबेला हुर्किएको संसारभन्दा नितान्त फरक छ। तसर्थ हिटलर र उनको प्रतिरूपको व्यवहार पनि फरक हुनेछ र उनीहरू फरक व्यक्ति हुनेछन्।

आधुनिक क्लेानिङ प्रविधिबाट एकैरूप र समान आनुवंशिक तत्व भएका व्यक्तिको निर्माण गर्न सकिएला तर यस प्रविधिबाट तयार पारिएको कुनै पनि मानव प्रतिरूपको व्यवहार र व्यक्तित्व सर्वथा मूल व्यक्ति समान हुन सम्भव छैन। अर्थात्, क्लेानिङ प्रविधिमार्फत् अर्को आइन्स्टाइन वा हिटलरको ‘पुनर्जन्म’ सम्भव छैन।

Source : http://www.nagariknews.com/opinions/98-opinion/11251-2010-03-11-07-46-12.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: