Skip navigation

Tag Archives: NAFOL

The Himalayan Times National Daily, 31st October 2010

Advertisements

– दयानन्द बज्राचार्य

चितवनकी नीता गुरुङले २०५८ माघ ४ मा आफूले जन्माएको छोराका बाबु राजीव गुरुङ भएको जिकिर गरे पनि राजीवले बच्चालाई आफ्नो छोरा स्वीकार नगरेपछि उनले अदालतमा मुद्दा दायर गरिन्। मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो। खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणले बच्चाका बाबु राजीव होइनन् भन्ने प्रतिवेदन दियो। सञ्चारमाध्यममा आएको समाचारअनुसार सर्वोच्च अदालतबाट डीएनए परीक्षणको नतिजालाई इन्कार गर्दै जिल्ला र पुनरावेदन अदालतको पूर्व फैसलालाई नै सदर गरी बच्चाको बाबु राजीव नै भएको ठहर गरियो।

विज्ञान र प्रविधिका क्षेत्रमा भएका पछिल्ला उपलब्धिले अन्य क्षेत्रजस्तै प्रहरी, अपराध अनुसन्धान र न्यायक्षेत्र पनि लाभान्वित भएका छन्। फोरेन्सिक साइन्स अर्थात् विधि विज्ञानका नामले चिनिने विज्ञानको यस विशेष क्षेत्रमा पछिल्लो समयमा ठूलो प्रगति भएको छ। डीएनए परीक्षण प्रहरी अनुसन्धान र न्याय सम्पादनमा ठूलो योगदान पुर्‍याउने पछिल्लो प्रगति हो।

नेपालमा सन् १९८६ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान अन्तर्गत स्थापित र हाल विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले सन् २००५ देखि डीएनए परीक्षण सुरु गर्न थालेको हो। देशभित्रै डीएनए परीक्षणको सुविधा उपलब्ध हुनुलाई देशमा वैज्ञानिक क्षमताको विकासका रूपमा लिन सकिन्छ, तर उक्त प्रयोगशालाको प्रतिवेदनले मान्यता नपाउनाले देशभित्र विकास गरिएको डीएनए परीक्षणको क्षमतामाथि प्रश्न चिन्ह लागेको छ।

हिजोआज डीएनए र डीएनए परीक्षण सर्वसाधारणका लागि पनि चासोको विषय बनेको छ। हुनत धेरैलाई यस विषयबारे राम्रो ज्ञान भने छैन। तसर्थ सामान्य पाठकको हितका लागि डीएनए र डीएनए परीक्षणबारे चर्चा गर्नु उपयुक्त हुनेछ। यसबाट नीता-राजीव मुद्दाको फैसलामा डीएनए परीक्षणको महत्व बुझ्न पनि पाठकलाई मद्दत पुग्नेछ।

मानव शरीरको प्रत्येक कोषिकाभित्र न्युक्लियस अर्थात् केन्›क नाम गरेको एक अङ्गक हुन्छ। ती न्युक्लियसभित्र ससाना संरचना हुन्छन्, जसलाई क्रोमोजोम अर्थात् गुणसूत्र भनिन्छ। मानिसमा यसको सङ्ख्या ४६ हुन्छ। यिनै क्रोमोजोममा डीएनए अवस्थित हुन्छ। डीएनए तिनै तत्व हुन् जसले कुनै पनि जीवको आनुवंशिक गुण निर्धारण गर्छ। डीएनएको पूरा नाम हो – डिअक्सिरिबो न्युक्लिक एसिड।

न्युक्लियसका अतिरिक्त कोषिकाभित्र हजारौंको संख्यामा रहेका माइटोकन्ड्रिया नामक अङ्गकमा पनि डीएनए पाइन्छ। तर माइटोकन्ड्रियामा पाइने डीएनएले न्युक्लियसमा पाइने डीएनएले जस्तो जीवको आनुवंशिक गुण निर्धारण गर्दैनन्। माइटोकन्ड्रियाको प्रमुख भूमिका जीवका लागि अपरिहार्य ऊर्जा उत्पादन गर्नु हो र यसमा अवस्थित डीएनएको छुट्टै भूमिका हुन्छ।

डीएनए निकै मसिना धागोजस्ता वस्तु हुन् जसको व्यास मानव शरीरको रौँभन्दा १४ हजार ४ सय गुण सानो हुन्छ। मानव शरीरको प्रत्येक कोषिकामा एकैनासका डीएनए हुन्छन्। तर सबै कोषिकामा सबै डीएनए एकै पटक क्रियाशील हुँदैनन्। कुनै अङ्गका कोषिकामा कुनै प्रकारका डीएनए क्रियाशील हुन्छन् भने अर्को अङ्गको कोषिकामा अर्कै डीएनए क्रियाशील हुन्छन्।

कुनै पनि जीवको डीएनए मूलतः एडिनिन, थाइमिन, साइटोसिन र ग्वायानिन नामक चार विशेष प्रकारका महत्वपूर्ण रासायनिक तत्वबाट निर्मित हुन्छ। एउटा मानव कोषिकाभित्र करिब ६ अर्ब यस्ता तत्वहरू हुन्छन्। ती चार रसायनिक तत्वलाई क्रमशः अङ्ग्रेजी भाषाका चार अक्षर ‘ए’, ‘टी’, ‘सी’, ‘जी’ले सम्बोधन गरिन्छ। वास्तवमा ती जटिल प्रकारका रसायनिक तत्वहरू हुन्, तर चलनचल्तीमा डीएनएको बयान गर्न वैज्ञानिकहरूले रसायनिक नामको सट्टा यिनै अक्षरहरूको प्रयोग गर्छन्। एउटा डीएनएको अणुमा केही दर्जनदेखि हजारौं ‘ए’, ‘टी’, ‘सी’, ‘जी’ लहरै मिलेर रहेका हुन्छन्। प्रत्येक डीएनएमा दुई घुमाउरो समानान्तर संरचना हुन्छन्, जसलाई डबल हेलिक्स पनि भनिन्छ। दुई समानान्तर संरचनामध्येको एक संरचनामा कुनै स्थानमा ‘ए’ छ भने विपरीत संरचनाको सोही स्थान मा ‘टी’, र ‘सी’ छ भने ‘जी’ हुन्छ। यो डीएनएको अणूमा हुने स्वाभाविक विन्यास हो।
सबै डीएनएको विशेषता यिनै चार अक्षरको सिक्वेन्स (अनुक्रम)मा भर पर्छ र कुनै पनि जीवको आनुवंशिक गुण यही डीएनए अनुक्रमले निर्धारण गर्दछ। जसरी केही सीमित अक्षर (नेपालीमा ३६ र अङ्ग्रेजीमा २६)को प्रयोग गरी विभिन्न प्रकारका अनगिन्ती कृति निर्माण गर्न सकिन्छ, त्यसैगरी जैविक भाषाका यी चार अक्षरको प्रयोगले जीवजगतमा पाइने सम्पूर्ण प्रकारका डीएनए निर्माण गरिएका हुन्छन्।

मानव कोषिकामा आनुवंशिक गुण निर्धारण गर्ने क्रियाशील डिएनका साथै केही यस्ता डीएनए पनि हुन्छन्, जो निष्त्रि्कय हुन्छन् र जसले कुनै आनुवंशिक गुण निर्धारण गर्दैनन्। यसका अतिरिक्त प्रत्येक मानव कोषिकामा व्यक्तिपिच्छे केही यस्ता विशेष प्रकारका डीएनए हुन्छन् जो अन्य व्यक्तिमा पाइँदैनन्। प्रत्येक मानिसको डीएनएमा पाइने यही विशेषताको अध्ययन गरिन्छ डीएनए परीक्षणमा।

प्रकृतिमा एक डिम्बीय जुम्ल्याहाबाहेक अरू कुनै पनि दुई व्यक्तिको डीएनएको बनोट एकअर्कासँग शतप्रतिशत मेल खाँदैन। यही कारणले केही जुम्ल्याहाबाहेक विश्वका लगभग छ अर्ब मानिसको रूप, रङ, व्यवहार र आनुवंशिक गुण एकअर्कासँग ठ्याम्मै मेल खाँदैन। यसरी प्रत्येक व्यक्तिको हस्तचक्र फरक भएजस्तै डीएनएको बनोट पनि व्यक्तिपिच्छे फरक हुने गर्दछ। यसै भएर डीएनएको बनोटलाई ‘डीएनए फिङगरप्रिन्ट’ पनि भनिन्छ।
डीएनए परीक्षण विशेष गरी आमाबाबु र सन्तानबीच नाता प्रमाणित गर्न तथा हत्या, बलात्कारलगायतका विभिन्न अपराधमा संलग्न व्यक्ति र कुनै दुर्घटनामा अनुहार चिन्न नसकिने गरी मृत्यु भएका व्यक्तिको पहिचान गर्न प्रयोग गरिन्छ। यसका अतिरिक्त डीएनए परीक्षण नजिकका नातेदारको वंशावली तयार पार्न, लामो समयदेखी हराएका वा छुट्टिएका नातेदारको पहिचान गरी पुनर्मिलनमा सहयोग गर्न र गम्भीर प्रकृतिका आनुवंशिक रोगको पहिचान गर्न प्रयोग गरिन्छ। यस प्रयोजनका निम्ति रगत, वीर्य, र्‍याल, हड्डी, जरासहितको रौंँलगायतका विभिन्न स्रोतबाट प्राप्त मानव कोषिकाको प्रयोग गरिन्छ। पुरातत्वविज्ञानमा यो प्रविधि शताब्दीयौँ पुरानो जीवाश्मको आनुवंशिक अनुसन्धान गर्न प्रयोग गरिन्छ।

डीएनएको परीक्षणकै आधारमा केही समयअघि बिल क्लिन्टन र मोनिका लेविन्स्कीबीच यौन सम्पर्क स्थापित भएको प्रमाणित भएको थियो। यसैगरी अदालतबाट मृत्यदण्डको सजाय पाएका कैयौँ व्यक्ति डीएनए परीक्षणबाट निर्दोष साबित र जेलमुक्त भएका छन्। विश्वमा डीएनए परीक्षणद्वारा अदालतमा हुने गरेका कैयौँ फैसलासमेत त्रुटिपूर्ण प्रमाणित भएका छन्।

हिजोआज डीएनए परीक्षण न्याय सम्पादनमा आमाबाबु र सन्तानबीचको नाता प्रमाणित गर्न भरपर्दाे पद्धतिका रूपमा स्थापित भइसकेको छ। कुनै पनि शिशुले आफ्नो आमा र बाबुबाट समान मात्रामा डीएनए प्राप्त गर्ने भएकाले आमा र बाबुको डीएनएमा भएका विशेषताका ठूलो अंश शिशुको डीएनएमा पनि देखा पर्दछ। तसर्थ कुनै शिशुको वास्तविक आमा वा बाबुको सही पहिचान उनीहरूको डीएनए परीक्षण गरेर सजिलै निर्धारण गर्न सकिन्छ। डीएनए परीक्षणको प्रक्रिया केही जटिल भएकाले यसमा उच्च सावधानी र सतर्कता अपनाउनु आवश्यक छ। अन्यथा गलत नतिजा आउने सम्भावना हुन्छ। तर सुविधायुक्त प्रयोगशालामा दक्ष र तालिम प्राप्त वैज्ञानिकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको डीएनए परीक्षणको विश्वसनीयता झण्डै शतप्रतिशत भरपर्दाे हुने बताइन्छ। सही निर्णयमा पुग्न कतिपय विकसित मुलुकमा अदालतले एकभन्दा बढी मान्यताप्राप्त प्रयोगशालामा डीएनए परीक्षण गराउँछन् र विभिन्न प्रयोगशालामा गरिएका परीक्षणको नतिजा शतप्रतिशत मिलेमा त्यसलाई प्रमाणका रूपमा स्वीकार गर्छन्।

भनिन्छ, कानुनले प्रमाण खोज्छ। विज्ञानले पनि वास्तवमा प्रमाणनै खोज्छ। यस अर्थमा विज्ञान र कानुनबीच केही समानता देखिन्छ। विज्ञानले प्रदान गर्ने प्रमाण अन्य प्रमाणभन्दा बढी विश्वसनीय हुने भएकाले आज विश्वका विकसित मुलुकमा कानुनी निकायले फैसला गर्दा प्रमाणका आधारमा फैसला गर्ने आधारभूत सिद्धान्तअनुरूप डीएनए परीक्षणजस्ता वैज्ञानिक परीक्षण र अनुसन्धानलाई बढी महत्व दिँदै आएका छन्। अर्थात् ती मुलुकमा विज्ञानप्रति अविश्वास गरिँदैन।

नीता-राजिवको मुद्दामा राष्ट्रिय विधि विज्ञान प्रयोशालाले पेस गरेको डीएनए परीक्षणको प्रतिवेदन अस्वीकार गरिनुको कारण यस प्रकारको परीक्षणमा हुनसक्ने सम्भावित त्रुटि हुनसक्छ। त्रुटि त हरेक पेसामा हुनसक्छ। हो, यस्ता सम्भावित त्रुटि हुन नदिन वा न्यूनीकरण गर्नेतर्फ सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ। राष्ट्रिय विधि विज्ञान प्रयोशालाका वैज्ञानिकहरूकाअनुसार उक्त प्रयोगशालामा गरिने डीएनए परीक्षण त्रुटिरहित छ र यसलाई अन्तर्राष्ट्रिय प्रयोगशालालेसमेत प्रमाणित गरेका छन्। तसर्थ राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणमाथि शङ्का गर्ने उचित आधार देखिँदैन। शङ्का लागेको भए परीक्षण दोहर्‍याएर गर्न सकिन्थ्यो। परीक्षणमा लापरवाही भएको प्रमाणित भएमा सम्बन्धित वैज्ञानिक वा प्राविधिज्ञलाई उचित दण्ड दिने कानुनी व्यवस्था पनि गर्न सकिन्छ। तर एक्काईसौँ शताब्दी र वैज्ञानिक युगमा विज्ञानमा आधारित प्रमाणले खास कारणबिना मान्यता नपाउनुले हामी आधुनिक समयसँग हिँड्न नसकेको वा नचाहेको र पुरानै रुढिवादी समाजमा बाँच्न चाहेको ठहरिन्छ। नेपाली समाजका हरेक वर्ग र क्षेत्रमा वैज्ञानिक चेतनाको कमी पाइन्छ। विज्ञानमा आधारित प्रमाणले मान्यता नपाउनु पनि यही अवस्थाको एक सङ्केत हो कि?

Source: http://www.nagariknews.com/opinions/98-opinion/17761-2010-09-02-03-53-12.html